February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

फुटवलको सर्वोच्च निकाय एन्फाको नेतृत्वका लागि आज मतदान हुँदै

2.8K

काठमाडौं । फुटवलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को २१औं साधारण सभा आजबाट सुरु हुँदै छ । आगामी चार वर्षे नेतृत्वका लागि आज २१ सदस्यीय केन्द्रीय कार्यसमिति छनौट गर्ने छ । निर्वाचनमा १४ वटा ए डिभिजन क्लब, ११ वटा बी डिभिजन क्लब र ९ वटा सी डिभिजन क्लब , राष्ट्रिय लिगमा छनोट भएका मोफसलका ४ वटा क्लबले मत दिनेछन्। एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले पनि मत दिनेछन्। यस पटक एन्फामा ८४ जनाले मताधिकार पाएका छन्। काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम ९ बजे सुरू हुने बताइएको छ । उद्घाटन सत्रपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ ।

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्यानलसहित चुनावी मैदानमा छन् । यस्तै फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल पनि अध्यक्षको आकांक्षी छन् । वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट शिक्षित पराजुली र नेम्बाङ प्यानलबाट वीरबहादुर खड्का प्रतिस्पर्धामा छन् । यस्तै उपाध्यक्षमा शेर्पा पक्षबाट उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा उम्मेदवार छन् ।

नेम्बाङ पक्षबाट विराटजंग शाही, दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडा उपाध्यक्षको उम्मेदवार छन् । निर्वाचनमा ७ प्रदेशमध्ये प्रदेश १ एकका सबैले नेम्बाङलाई भोट दिने सार्वजनिक रूपमै घोषणा गरेका थिए । यस्तै सी डिभिजन क्लबका मताधिकार पाएका व्यक्ति पनि नेम्बाङ पक्षका खुलेका छन् । एन्फाको लामो समय नेतृत्व गरेका पूर्व अध्यक्ष गणेश थापा समेत नेम्बाङ पक्षमा खुलेको बताइएको छ । थापाको नेपाली फुटवलमा राम्रो भूमिका भएकोले पनि यस पटक नेम्बाङ पक्षले वाजि मार्ने अनुमान गरीएको छ ।

Advertisement

भक्तपुर र सिन्धुलीको जिल्ला निर्वाचनमा विवाद हुँदा मताधिकारबाट बन्चित भएका थिए । यस्तै एन्फाको विधानविपरित मताधिकार दिइएको दाबीविरोध परेपछि सिराहा जिल्लाको मताधिकार बदर भएको थियो । बर्तमान कार्यसमिति विभिन्न काण्डमा मुछिएपछि पछि पनि एन्फामा नेतृत्व परिवर्तन गर्नुपर्ने दवाव परेको बताइन्छ ।