August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

एसपीपीविरुद्ध उभिए नौ कम्युनिष्ट पार्टीहरु, राष्ट्रघाती सम्झौतामा हस्ताक्षर हुने खतरा बढेको आरोप

965

काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे विभिन्न नौ वटा कम्युनिस्ट पार्टीहरुले नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्ताबेज सार्वजनिक भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएका छन् । उनीहरुले विज्ञप्तिमार्फत प्रधामन्त्री शेरबहादुर देउवाको चाँडै हुन लागेको अमेरिका भ्रमण समेत रद्द गर्न माग गरेका छन् ।

एसपीपी हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अंग भएकाले आपत्ति जनाउँदै बुधबार नौ वामपन्थी पार्टीहरुले संयुक्त वक्तव्य जारी गर्दै , ‘यो नेपाली सेनाको सहभागिता, अमेरिकाले नेपाली सेनालाई आफ्नो सेनाको अङ्ग बनाउने र सामान्यतः दक्षिण एसिया क्षेत्र र विशेषतः चीनमाथिको सैन्य हस्तक्षेपका निमित्त नेपालका सैन्य अखडालाई निर्बाध प्रयोग गर्ने योजनामा आधारित छ । हामी सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको यसप्रकारको ठाडो दबाब तथा हस्तक्षेपको घोर विरोध एवम् भत्र्सना गर्दछौँ र नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न जोडदार माग गर्दछौँ ।’ भनिएको छ ।

गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी अमेरिका भ्रमणमा एसपीपीलगायत विभिन्न प्रकारका राष्ट्रघाती सम्झौताहरूमा हस्ताक्षर हुने खतरा बढेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । नौ पार्टीले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न र राष्ट्रको अहितमा हुने गरी कुनै पनि प्रकारका सन्धि–सम्झौतामा हस्ताक्षर नगर्न विज्ञप्ति मार्फत माग गरेका छन् ।

Advertisement

नेपालको संसदद्वारा एमसीसी पारित गरिएको घोषणा भएपछि नेपालमाथि अमेरिकाको हस्तक्षेप बढेको ठहर गरेको उल्लेख छ ।

विज्ञप्तिमा हस्ताक्षर गर्ने दलहरुमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा (बहुमत), नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, ऋषिराम कट्टेलको नेकपा, (माओवादी समाजवादी), नेकपा मसाल, जन समाजवादी मञ्च रहेका छन् ।