काठमाडौं । प्रस्तावित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाले कुनै पनि देशलाई एसपीपीमा सामेल हुन नभन्ने र कुनै पनि देशले त्यसका लागि माग आएमा सम्बोधन गर्ने जनाएको छ ।
मंगलबार साँझ ट्वीट गर्दै दूतावासले भनेको छ, ‘अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरसिप प्रोग्राम ‘एसपीपी’ मा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ ।’ एमसीसीमा प्रश्न उठ्दा पनि अमेरिकाले नेपालकै मागअनुसार सम्झौता भएको प्रतिक्रिया दिने गरेको थियो ।
दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेसनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम रहेको जनाएको छ । दूतावासको थप भनेको छ, ‘अमेरिकी नेसनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपत्तविरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ ।’ साढे दुई दशकदेखि कायम रहेको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश भएको दूतावासले भनेको छ ।
दूतावासले प्रकृतिक प्रकोपसहितको विषयमा नेसनल गार्डले राम्रो काम गर्दै आएको जनाएको छ । ‘आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्मा अग्रपंक्तिको उद्धारकर्ताका रूपमा रहेका नेसनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहन्छ,’ अमेरिकी दूतवासले भनेको छ, ‘यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम हो भनिएको छ ।’
प्रस्तावित एसपीपी बारे नेपालको ध्यान तान्ने मुख्य ७ बुँदा