May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

प्रचण्ड सजिलो मानिस हुनुहुन्छ, तपाईंहरूले चिन्नुभएकै छैन: प्रधानमन्त्री देउवा

345

चितवन । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा सत्तागठबन्धनकी साझा उम्मेदवार रेनु दाहाललाई जिताउन आग्रह गरेका छन् । आज सत्तागठबन्धनले चितवनमा गरेको चुनावी सभामा बोल्दै सभापति देउवाले चुनावी तालमेललाई लिएर काँग्रेसभित्र कुनै बखेडा नगर्न पनि निर्देशन दिए ।

देउवाले चितवनको मेयरका रूपमा रेनुले पाँच वर्ष राम्रो काम गरेको बताए । उनले भने, ‘रेनुले यहाँ जितिसक्नुभएको छ, हाम्रो पार्टीले बखेडा गर्नु आवश्यक छैन । साथीहरूले रेनु दाहालजीलाई सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

यस्तै, रेनुको नेतृत्वमा विभिन्न ठाउँमा सडक कालोपत्र भएको पनि देउवाले बताए । रेनुले स्मार्ट सिटी बनाउने घोषणा गर्नु सानो कुरा नभएको बताए । यस्तो काम गर्ने मानिस नै मेयर हुनुपर्ने उनको भनाइ थियो । ‘यस्तो काम गर्ने मानिस नभएर को हुन्छ यहाँ ?,देउवाको प्रश्न थिो ।

Advertisement

उनले एक्लै कुनै पनि पार्टीले बहुमत नल्याउने भएकोले गठबन्धन आवश्यक पर्ने बताए । साथै उनले चितवनमा गठबन्धनको विरोध हुनु भनेको गठबन्धन टुटाउने षड्यन्त्र भएको दाबी गरेका थिए ।

त्यस्तै, देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सजिलो मानिस भएको पनि बताए । ‘प्रचण्ड सजिलो मानिस हुनुहुन्छ तपाईंहरूले चिन्नुभएकै छैन,’ उनले भने ।