May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

मोदीको भ्रमणबारे आधिकारिक जानकारी नआएको परराष्ट्र मन्त्रालयको भनाई

225

काठमाडौ :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका विषयमा हालसम्म आधिकारिक जानकारी प्राप्त नभएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

प्रधानमन्त्री मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा जाने भएको सोमबार भारतीय अखबार द हिन्दूले समाचार लेखेको थियो।

स्रोतलाई उद्धृत गर्दै अखबार हिन्दूले लेखेको छ, सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ।

Advertisement

परराष्ट्रका एक कर्मचारीले भने, ‘भीभीआइपी भ्रमण हुने कुरा मन्त्रालयलाई थाहा हुनु पर्ने हो तर, त्यस विषयमा कुनै पनि जानकारी प्राप्त भएको छैन। अहिलेसम्म कुनै भ्रमण उच्चस्तरबाट हुने जानकारी आइसकेको छैन। निकट भविष्यमा खबर आउला भन्ने बेग्लै कुरा हो। भ्रमणको खबर प्राप्त भएको भए सूचना दिन अप्ठयारो हुँदैनथ्यो।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिना अघि भारत भ्रमण गरेका थिए। सोही समयमा देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको ती कर्मचारीले बताए। स्रोतका अनुसार भ्रमणको सम्भावना अझै पनि बाँकी छ।

उच्च कूटनीतिक तहको भ्रमण हुँदा परराष्ट्र मन्त्रालयले प्रोटोकल मिलाउने गर्छ। अहिलेसम्म कूटनीतिक भ्रमण हुने भनेर खबर प्राप्त नभएको परराष्ट्र स्रोतले दाबी गर्‍यो।

भारतीय प्रधानमन्त्री मोदी जस्तो उच्चस्तरीय व्यक्तिको भ्रमण हुँदा शान्ति, सुरक्षा र हस्पिटालिटीको व्यवस्थापनका कुराहरू हुन्छन्, परराष्ट्र स्राेत भन्छ। उच्चस्तरको व्यक्तिको भ्रमण हुँदा परराष्ट्रले सबै कुराको व्यवस्थापन मिलाउने गरेको छ।

प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए। २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए।