June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

आज इदउल फित्र, देशभर सार्वजनिक बिदा

975

काठमाडौं : अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाउँदै छन्।

दशौं महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

खुशीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इदउल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए। नवौं महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज इदउल फित्र मनाइएको हो।

Advertisement

यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन्। यस अवसरमा आज बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरिने सचिव हुसेनले जानकारी दिए। यस अवसरमा आज नेपाल सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ।