काठमाडौं : निर्वाचन आयोगले आइतबारसम्म ६० जिल्लामा मतपत्र पठाइसकेको जनाएको छ। आयोगका अनुसार अब १७ जिल्लामा मात्र मतपत्र पठाउन बाँकी छ। आयोगका अनुसार सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्रलगायत सरसामग्री पठाउन तयारी अवस्थामा रहेको र सोमबार बिहान पठाइनेछ।
आयोगले वैशाख १७ गतेसम्म ९१ लाख ११ हजार मतपत्र ४९ जिल्लाका लागि पठाइसकेको र १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि पठाइसकेको जनाएको छ। आयोगका अनुसार मधेश प्रदेशका ८ जिल्ला, प्रदेश १ का मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौं र भक्तपुरमा मतपत्र पठाउन बाँकी छ।
कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ। आयोगले वैशाख २३ गतेसम्म सबै ठाउँमा मतपत्र पुगिसक्ने जानकारी दिएको छ।
आयोगले वैशाख १३ गतेदेखि जिल्लामा मतपत्र पठाउन थालेको थियो। यसअघि ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि १ करोड ८० लाख ४५ हजार मतपत्र छापिसकेको थियो। आयोगका अनुसार आज भक्तपुर जिल्लाका लागि मतपत्र छाप्न शुरु भएको छ।