May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

सोल्टी ! तपाईको सुरुवाल मलाई दिनोस्, मेरो सारी तपाइँ लाउनोस् !

940

रामनवमी अर्थात चैते दशैको अवसरमा छथर गाउँपालिका–६ स्थित सुदापमा तीन दिने ताक्लुङ (रामनवमी) मेला लाग्ने गर्छ । यस वर्षको ताक्लुङ मेला समापन भएको छ । प्रत्येक वर्ष लाग्ने उक्त मेलामा तेह्रथुमको बसन्तपुर, दाँगपा, सोल्मा, सुङ्नाम, फाक्चामारा, हाक्पारा, परेवाखोप लगायत धनकुटा र पान्थर जिल्लाका केहि ठाउँबाट मानिसहरु मेला भर्न आउने गर्छन् ।

यहाँका रैथाने याक्थुङ (लिम्बु)हरुले चैते दशैलाई आफ्नो मौलिक पर्वको रुपमा लिन्छन्मा/न्ने गर्छन् । यस मेलाको इतिहासलाई केलाउदा करिब १९१३ सालदेखि मेला लाग्न सुरु भएको तुम्भाक्सा (अग्रज)हरुको अनुमान छ । यस मेलाको नाम रामनवमी नभइ ‘ताक्लुङ’ मेला भएको याक्थुङ्बा/याक्थुङ्माहरु बताउछन् । कुनै समय छथर गाउँपालिका–५ साविक ओख्रे ७ नम्बर वडास्थित ताक्लुङ यक (६ थरी खेवाहरुको यक) नेर लाग्ने गर्दथ्यो । दिनमा ताक्लुङमा र साँझमा हिटीमा लाग्ने गर्दथ्यो । स्थानीय महाशेर तुम्खेवा लिम्बुका अनुसार २०१८ सालताका उक्त मेलालाई सुदापका गोद्रिलाल आँखेवाले साविक सुदाप ४ मा सारेका हुन् । ‘त्यतिबेला पनि ताक्लुङमा राँगा काटेर पूजा गर्ने चलन थियो । दोकान थापिन्थ्यो, जाँडरक्सीको व्यापार हुन्थ्यो तर त्यहाँ पानी थिएन । पानी नभएकै कारण गोद्रिलालले कुवा भएको ठाउँमा मेला सारेको हो ।’, महाशेर सम्झन्छन् । ‘वास्तवमा हामीले जानेको ताक्लुङ भन्दा पनि ‘तावालुङ’ हो ।’, उनले थपे ।

पछिल्लो समय ताक्लुङ मेलाको रौनक घट्दै गइरहेको आभास गर्न सकिन्छ । करिब १५ वर्ष अघिसम्म मेला सुरु भएपछि पाःलामहरु गुञ्जिएर नदि सुसाएजस्तै सुनिन्थ्यो । विभिन्न ठाउँबाट मेला भर्न आइपुगेका थाङ्बेन मेन्छ्याहरु धान नाच्ने गर्दथे । आपसमा मन परापर भएमा चिठ्ठी आदानप्रदान गर्दथे । कतिको मेलाबाटै विवाह पनि हुने गथ्र्यो । त्यसो त फौदरी (झगडा) पनि अनिवार्य जस्तै हुन्थ्यो । तर ती सबै कुराको प्रवाह नगरी टाढा–टाढाबाट थाङ्बेन मेन्छ्याहरु मेला भर्न आउने गर्थे । कति पे्रमि–प्रेमिकाको भेट्ने बहाना पनि हुन्थ्यो ।

Advertisement

महाशेर तुम्खेवा यहिँ मेलाबाट आफ्नो विवाह भएको मिठो किस्सा यसरी सुनाउछन्, ‘२०२१ सालमा हामी धान नाच्न र रमाइलो गर्न ताक्लुङ मेला गएका थियौं । परेवाखोपका तरुनीहरू पनि मेला आए । हामी राती धान नाच्यौं, अनि मसँग जान्छौ भनेर सोधेको, लान्छौ भने जान्छु तर पाल्न सक्छौ ? भनेर सोध्यो । मैले सक्छु भने । अनि त्यतिकै तानातान गर्दागर्दै हामी घर आइपुग्यौं । त्यतिबेला धान नाचेरै विवाह हुन्थ्यो । त्यहिँ मेलाबाट हामी ३ जनाले परेवाखोपकै तरुनीसँग विवाह गर्‍यौं ।’

मेजर कान्छा नामले परिचित एक स्थानीय आफ्नो उमेरमा पाःलाम गाएको स्मरण गर्छन्ः
वाप्माबुङ सर अखे लर
यक्माहिम तेहिम लुङ्मा पहिम
फाफेःक्वा पेन्नो कगन तेन्नो
इक्सादिन खाम्बेक आधोखेल्ले
सिराइ पधाङ आदुमेल्ले
सिदा नु पाङ्दा आङ्मै ताःमा
मुसोत् रक चोकि लाङ्मै पाःप्मा

राम्रो पाःलाम भन्ने क्षमता भएको मेजर कान्छाले पनि पाःलाम भनेरै तरुनी फकाएर विवाह गरेका हुन् । अहिले आफू ५८ वर्ष पुगेको र अझैं पनि यो ताक्लुङ मेलाले ती यौवनका सम्झनाहरु व्युँताउने गरेको उनी बताउछन् । ‘तर के गर्नु अहिले ताक्लुङ मेला पहिला जस्तौ छैन । आधुनिक बनेको छ ।’, उनी दुखेसो पोख्छन् ।

नाम उल्लेख नगर्ने सर्तमा अर्का एक बृद्धा आफ्ना कथा सुनाउछन् । उनि भन्छन्, ‘म १६ वर्षको थिएँ हुँला, एकजना सोल्टिनीसँग रातभरी धान नाच्यौं, विहे गर्ने सल्लाह भयो । बिहान उज्यालो खसेपछि घर लिएर गएँ । घर मास्तिरको नास्पातीको बोटसम्म पुगेका थियौं, त्यहाँबाट घरका आँगनमा बुबाआमा, दिदिबहीनीहरु बसिरहेको देखेपछि उनलाई घर लैजाने आँटै आएन । सोल्टिनीलाई फर्काएर फेरि मेलामै पुर्‍याएँ । त्यसपछि उनले मेरो साडी तपाइँ लाउनोस्, तपाइको सुरुवाल मलाई दिनोस् भनिन् । त्यो दिनदेखि सोल्टिनीसँग फेरि भेट भएन । सायद मलाई बेस्सरी सराप्यो होला !

यस्ता थुप्रै किस्सा, सम्झनाहरु र इतिहास बोकेको छ यस ताक्लुङ मेलाले । विशेष छथरे याक्थुङहरु र पाःलाम, संस्कार र संस्कृति बोकेको छ यस मेलाले । तर, अहिले भने यस मेला आधुनिक बनेको छ । अहिले मेलामा पाःलाम गुञ्जिदैन । पहिला जस्तो सुसाउदैन । अहिले यस मेलाको प्रमुख आकर्षण फुटवल र भलिवल नै थियो । यस वर्षका खेलकुद विभागका अध्यक्ष लोकमान मादेन लिम्बुका अनुसार यसवर्ष फुटवलतर्फ प्रथम र दोस्रो हुने खेलाडीहरुलाई क्रमशः ८० हजार र ५० हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने, सेमि फाइनलबाट आउट हुने टिमहरुलाई १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै म्यान अफ दि म्याच, उत्कृष्ट गोलकर्ता, वेस्ट गोलकर्ता र उत्कृष्ट वेश डिफेन्सलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष लोकमानले जानकारी दिए । त्यस्तै, भलिवलतर्फ विजेता र उपविजेतालाई क्रमशः नगद ३० हजार र २० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजेताहरुलाई पुरस्कार वितरण गर्ने क्रममा पुरस्कार तथा ट्रफी वितरण गर्दै छथर गाउँपालिकाका अध्यक्ष शन्तोष तिगेला ।

मौलिक संस्कृतिको संरक्षण गर्ने किसिमको कार्यक्रमहरु नि ? यो प्रश्नमा अध्यक्ष लिम्बुले यस वर्ष त्यस किसिमको कार्यक्रमहरुको आयोजना गर्न नसकिएको जवाफ दिए । बरु बजारको आकर्षणको रुपमा रिङ, तिर, गिलास लगाउने जस्ता खेलहरु भएको बताए । अहिले मेलाको संरचनाहरु निर्माणधिन अवस्थामा रहेको कारण उक्त किसिमको कार्यक्रम गर्न नसकिएको उनको जवाफ थियो । यसको अर्थ हुन आउँछ, अहिले पाःलाम र यालाङहरु प्राथमिकतामा पर्दैनन् ।

लोकमानका अनुसार मेला बेलुका ८ बजे सम्म मात्रै रह्यो । जबकी अग्रजहरु ताम्लुङ मेलामा तीन दिन तीन रात पाःलाम भन्न सक्छु भन्ने दम्भ राख्ने गर्थे । ताक्लुङ मेलाले याक्थुङहरुको पहिचानलाई जीवन्त राख्न मद्धत पु¥याएको थियो । पछिल्लो समय आधुनिकीकरणले यसरी गाँज्यो कि करिब यस १५/२० वर्षको अन्तरालमा पाःलामको त के कुरा अहिले हुर्कदै गरेको पुस्ताहरुले याक्थुङ भाषासम्म बुझ्न छोडिसके । पाःलामहरुले गुञ्जयमान हुने मेलामा अचेल हिन्दी र अंग्रेजी गीतहरु बज्ने गर्छन् । समग्रमा भन्नुपर्दा सुरुवातमा मेलाले जुन पहिचान बोकेको थियो अहिले छैन ।

के भन्छ स्थानीय सरकार ?
छथर गाउँपालिकाका अध्यक्ष शन्तोष तिगेला आधुनिकीकरणको नाममा मौलिकता लोप भएको यथार्थलाई स्वीकार गर्छन् । पछिल्लो समय सुचना प्रविधिको द्रुत गति र विकासले मौलिक संस्कार र संस्कृतिहरु लोपको शिकार बन्दै गइरहेको उनको दाबी छ । ‘हिजो यस्ता किसिमका मेला तथा पर्वहरु कल्चरलाई प्रमोट गर्ने माध्यम थिए, आज त्यहाँसम्म ती कल्चरहरु देखा नपर्नु भनेको लोपको संघारमा पुग्नु नै हो ।’, अध्यक्ष तिगेलाले बताए । हिजो स्वतस्फुर्त रुपमा त्यस्ता कल्चरहरुको प्रस्तुत हुने गरेकोमा अहिले विभिन्न संघसंस्थाहरुको पहल र नेतृत्वमा प्रतिनिधिमूलक र प्रदर्शनको रुपमा, संरक्षण गर्ने पहलको रुपमा मात्रै प्रदर्शन गरिरहेको उल्लेख गर्दै यसबारे स्थानीय सरकारको ध्यानकर्षण हुने उनको भनाई छ ।