May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

तनहुँमा एमाले र गोविन्दराज जोशीबीच चुनावी तालमेल गर्ने सहमति

665

काठमाडौं । तनहुँमा नेकपा एमाले र गोविन्दराज जोशीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेको हो ।

शनिबार एमाले र जोशी समूहबीच भएको छलफलबाट तनहुँका सबै स्थानीय तहमा मिलेर उम्मेदवारी दिने सहमति भएको हो जनाइएको छ । जसअनुसार दमौली नगर क्षेत्र समेत रहेको ब्यास नगरपालिकामा जोशीका छोरा दिपकराज जोशीलाई मेयरमा एमालेले समर्थन गर्ने भएको छ ।

दिपकराज जोशीले काँग्रेसले टिकट नदिए स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । चुनाव परिचालनका लागि दुवै पक्षबाट चारचार जना रहेको चुनाव परिचालन समिति पनि गठन गरिएको छ । २०७४ सालको निर्वाचनमा जोशीले रामचन्द्र पौडेलविरुद्ध अभियान चलाएको आरोपमा काँग्रेसले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

Advertisement

जोशीकै कारण पौडेल एमालेका किसान श्रेष्ठसँग पराजित भएका थिए । श्रेष्ठ भने अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा छन् । तनहुँ काँग्रेसमा अहिले पनि पकड राख्ने जोशी समूहले एमालेसँग सहकार्य गर्दा काँग्रेसलाई यसपटक पनि अफ्ठ्यारो हुने देखिन्छ ।

सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलमा गडबडी देखिईरहेका बेला तनहुँमा पनि काँग्रेसको तालमेल अभियानमा संकट आईलागेको छ ।