February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

माओवादीले हारे संघीय लोकतान्त्रिक गणतन्त्र सकिन्छ : प्रचण्ड

3.4K

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले हारे देश हार्ने र सहिदको सपनामाथि कुठाराघात भई संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुने दाबी गरेका छन्।

जनकपुरधाममा मंगलबार चुनाव लक्षित मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी र अन्तरराष्ट्रिय शक्तिहरू माओवादीलाई सिध्याउने हिसाबले षड्यन्त्र गरिरहेको समेत बताए।

अध्यक्ष प्रचण्डले बोल्दै आगामी निर्वाचन अन्य दलका लागि निर्वाचन हुन सक्छ तर हाम्रा लागि लडाइँ हो। त्यसैले लडाइँकै हिसाबले तयारी गर्नुस्। गठबन्धन गरेर चुनाव जितौँला भन्ने मानसिकता बदल्नुस्।

Advertisement

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ठूलो लडाइँको रूपमा लिन नेता-कार्यकर्तासँग आग्रह गर्दै अध्यक्ष प्रचण्डले सोहीअनुसार योद्धा जस्तै चुनावको तयारीमा जुट्न निर्देशन दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै  अध्यक्ष प्रचण्डले माओवादीकै कारण देश संघीय लोकतान्त्रिक गणतन्त्र बनेको र  समानुपातिक, समावेशिता लागू भएको चर्चा गरे।

अध्यक्ष प्रचण्डले अबको निर्वाचनमा धाँधली गर्नेहरूलाई प्रतिकार गर्न, नंग्याउन र परास्त गर्नसमेत प्रचण्डले निर्देशन दिए। प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी जित्नैपर्ने  समेत बताए। 

अध्यक्ष प्रचण्डले संघीयताको जननी र संरक्षक मधेशी जनता नै भएको दाबी गरे। 

देशमा माओवादीलाई हराउन ठूलो षड्यन्त्र भइरहेको दाबी गर्दै उनले कांग्रेसले आफ्ना नेता-कार्यकर्ता एमालेमा पठाउनुको फण्डा के हो भनेर प्रश्न तेर्स्याए। उनले देशमा भएको ठूलठूला परिवर्तनमा मधेशी जनताको महत्वपूर्ण योगदान रहेको  बताए।

अध्यक्ष प्रचण्डले  काठमाडौंबाट आफू पराजित भए पनि सिरहाबाट विजयी भएर दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर पाएको बताए।