February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

हामी कसैको बैशाखी टेकेर चुनावमा जाने होइन : प्रचण्ड

2.5K

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‍’प्रचण्ड’ले स्थानीय तहको चुनावमा गठबन्धनको वैशाखी टेकेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन्।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा पुगेका प्रचण्डले पोखरा विमानस्थलमाप पत्रकारहरूसँग गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जाने बताएका हुन्। उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए।

‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ‚’ अध्यक्ष प्रचण्डले भने, ‘वडादेखि नै गठबन्धन होला र जितौँला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो। तर पनि हामीले अन्य दलका पार्टीका नेताहरूसँग गठबन्धन गर्नेमा केही छलफल हुँदैछ।’

Advertisement

उनले अरू पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्ने धारणा राखे। प्रचण्डले भने‚ ‘हामी कसैको बैशाखी टेक्ने होइन, अरू पार्टी माओवादीसँग तालमेल गर्न आउँदैछन्।’

उनले जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै आफूहरू नै पहिलो पार्टी बन्ने सम्भावना रहेको दाबी गरे। ‘०६४ मा ठूला भनेका दलले माओवादीको पाँच सिट आउँछ होला भनेका थिए। तर जनताले हामीलाई प्रत्यक्षतर्फ झन्डै बहुमत दिए,’ उनले भने, ‘०६४ को परिणाम हाम्राअगाडि छ। अब ०७९ मा चुनावमा जाँदा देशैभरिको सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेका छौँ।’

यस्तै‚ उनले भर्खरै एमालेसँग गठबन्धन भइनहाल्ने पनि बताए। चैत ३ मा बुटवलमा आयोजित कार्यक्रममा कांग्रेसले लखेट्यो भने एमालेसँग गठबन्धन नहोला भन्न सकिन्न भनेर आफैले भनेका कुराबारे प्रचण्डले प्रष्टीकरण दिएका हुन्।