काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने बताएकी छन् । एकीकृत समाजवादी पार्टीको सचिव समेत रहेकी झाँक्रीले मुद्दा र आवश्यकताका आधारमा आफ्नो पार्टीले चुनावी गठबन्धन गर्ने बताएकी हुन् ।
मंगलबार पार्टी जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने मन्त्री झाँक्रीले बताएकी हुन् । ‘गठबन्धन मुद्दा र आवश्यकताका आधारमा हुन्छ । एउटा मुद्दा र परिस्थितिले आज हामी एक ठाउँमा आएका छौं । गठबन्धन दुइटै पक्षलाई आवश्यक छ । त्यसकारण हामी गठबन्धन गर्छौं ।’, उनले भनिन् ।
त्यस्तै, मन्त्री झाँक्रीले गठबन्धनलाई प्रभाव पर्ने खालको अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन पनि दिएकी छन् । उनले यस्ता खालका अभिव्यक्तिले समाजमा राम्रो सन्देश नजाने बताइन् ।