मोरङ । हराएर भेटिएकी डेढ वर्षीया बालिकाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । घरबाट हराएकी सुन्दरहरैंचा नगरपालिका–७ कि बालिकाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
प्रहरीका अनुसार शुक्रबार ४/५ बजेतिर हराएकी बालिका घरनजिकैको गछिया खोला किनारको झाडीमा रोइरहेको अवस्थामा परिवारले साँझ ६ बजेतिर फेला पारिएको थियो । टाउकोलगायत शरीरको विभिन्न भागमा चोट देखिएकी बालिकालाई नजिकैको स्वास्थ्य क्लिनिकमा लगेपछि स्वास्थ्यकर्मीले योनीबाट रगत बगेको देखेर बलात्कार भएको आशंका गरेपछि थप उपचारका लागि विराटनगर ल्याइएको थियो ।
प्रहरीले घटना गम्भीर प्रकृतिको भएको र बालिकाको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि सत्यतथ्य खुल्ने प्रहरीले बताए ।