June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

लुक्ला विमानस्थल नजिकै जंगलमा भीषण आगलागी, उडान प्रभावित

२०७८ फाल्गुन २३

1.9K

सोलुखुम्बु — लुक्ला विमानस्थल नजिकैको जंगलमा आगलागी हुँदा उडान प्रभावित बनेको छ । जिल्लाको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर २ स्थित नाक्चुङ सामुदायिक वन क्षेत्रमा गएराति देखि भीषण आगलागी हुँदा आगोको मुस्लोका कारण दिउँसोको उडान प्रभावित भएको हो ।

पर्यटकीय सिजन सुरु भएसँगै हवाई उडानको संख्या बढिरहेका बेला आगलागीका कारण दिउँसो २ घण्टा विमानस्थल नै बन्द गर्नु परेको हो । ‘धुवाँको मुस्लोले उडान गराउनै सकिएन, विमानस्थल नै बन्द गर्नु पर्‍यो’ लुक्ला विमानस्थलका प्रमुख द्वारिका अछामीले भने । प्रमुख अछामीका अनुसार विमानस्थलमा आगालागीका कारण धुवाँले घेरेको थियो ।

आगलागीको बारेमा बिहान नेपाल प्रहरीलाई स्थानीयले जानकारी गराएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त टोली घटनास्थल पुगे पनि जंगल अनकण्टार भीरमा भएका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

Advertisement

मानवीय संसाधनले आगलागी नियन्त्रण हुन नसकेपछि हेलिकप्टर प्रयोग गरेर आगलागी नियन्त्रणको प्रयास गरिएको थियो । ‘अनकण्टार र अप्ठ्यारो भीरमा आगलागी भएकाले हामीले हेलिकप्टर परिचाल गर्यौं, त्यति गर्दा पनि आगो नियन्त्रणमा आउन सकेन’ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक कवित कटवालले बताए ।