March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

कर्मचारीलाई कुनै भेदभाव नगरी जनताको काम गर्न प्रधानमन्त्री देउवाको सुझाव

२०७८ फाल्गुन २१

1.1K

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरी जनताको सेवा गर्न आग्रह गरेका छन् । शनिवार काठमाडौंमा नेपाली काँग्रेसको कर्मचारी युनियनको आठौँ महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

राज्यका स्रोत साधन सम्पत्तिको सुरक्षा गर्ने निजामती कर्मचारी अहिलेको आवश्यकता रहेको बताउदै प्रधानमन्त्री देउवाले मुलुकको स्थायी सरकारको रुपमा रहेको निजामती कर्मचारीहरुको देश अगाडि बढ्न महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

त्यस्तै, प्रधानमन्त्री देउवाले राष्ट्रसेवक कर्मचारीको व्यवहार सरकारको व्यवहार हुने भएकोले जनताप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने, सुशासनले नै मुलुकको विकास हुने भएकोले कर्मचारीहरु मर्यादित र जिम्मेवार हुन आवश्यक रहेको बताए । कुनैपनि सरकारको योजनाको सफलता कर्मचारीमा निर्भर रहेको उनले बताउँदै राज्यलाई अगाडि बढाउनका लागि निजामती कर्मचारी मर्यादित र अब्बल रहनुपर्नेमा जोड दिए ।

Advertisement

प्रधानमन्त्री देउवाले सरकारको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि, जनतालाई सेवा सुविधा दिनका लागि राष्ट्रप्रति प्रतिबद्ध कर्मचारी आवश्यक रहेको बताउँदै संविधानले कर्मचारीलाई दिएको अधिकार कार्यान्वनका लागि आफ्नो तर्फबाट सहयोग हुने प्रतिबद्धता समेत व्यक्त गरे ।