बनेपा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संघीय संसद्बाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार आयोजित नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिको ५०औं बैठकमा बोल्दै उनले उनले अरु पार्टीमा जस्तो काँग्रेसभित्र कसैको फरक मत नरहेको बताए ।
सिंहले आम नेपाली जनताको चाहनाअनुसार सबै दलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राष्ट्र र जनताको हित हुनेगरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।
त्यस्तै, नेता सिंहले काँग्रेसले सहमतिमा नै संविधान जारी गरेजस्तै एमसीसीमा पनि विमती हुँदाहुँदै पनि सबैको सहमतिमा संसदबाट अनुमोदन गरेको बताए ।
विपक्षी दल नेकपा (एमाले)ले पनि समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने नेता सिंहले उल्लेख गरे ।
त्यस्तै उनले निर्वाचनको मिति तोकिसकेका कारण निष्पक्ष र धाँधलीरहित ढंगले निर्वाचन सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै काँग्रेस नेतृत्वको सरकारले यो कार्य सफलतापूर्वक गर्नेमा आफू विश्वस्त रहेको बताए ।
बैठक आगामी निर्वाचनका लागि संगठन परिचालन, राष्ट्रिय राजनीतिका मुद्दाका विषयमा आफ्नो धारणा स्पष्ट पार्ने काममा केन्द्रित हुने काँग्रेसले जनाएको छ ।