काठमाडौँ । निजी क्षेत्रका छाता सङ्गठनले बेलायती लगानीकर्तालाई आकर्षित गर्न नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेका छन् । नेपाली वस्तुको निर्यात अभिवृद्धि, बेलायती लगानी बढाउने तथा विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न बेलायतका लागि नवनियुक्त राजदूतसँग आग्रह गरेका हुन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले राजदूत आचार्यसँग छुट्टाछुट्टै छलफल गरी नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेकाले त्यसतर्फ बेलायती लगानीकर्तालाई आकर्षित गर्ने ढङ्गबाट पहल गर्न आग्रह गरेका हुन् ।
महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालसँग निकै पुरानो सम्बन्ध भए पनि बेलायतबाट न्यून लगानी भएको उल्लेख गर्दै लगानीका सम्भावना पहिल्याउँदै नेपालमा लगानीका लागि त्यहाँका उद्योगीलाई प्रोत्साहित गरिनुपर्ने बताए । उनले पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको भन्दै यी विषय बेलायती लगानीकर्ताका माझ पुर्याउन सक्नुपर्ने बताए ।
त्यस्तै, परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुनसक्ने भन्दै त्यसको निरन्तरताका लागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गरे । बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुनसक्ने भएकाले पर्यटन प्रवर्धनमा काम गर्नुपर्नेमा पनि उनले जोड दिए ।
नवनियुक्त राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुको बेलायती बजारमा प्रवर्धनका लागि आफूले काम गर्ने बताए । उनले बेलायतमा नेपाली गलैँचा, हस्तकला, तयारी पोसाक, चिया, कफीजस्ता वस्तुको अधिक सम्भावना रहेको र नेपाली वस्तुमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवर्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने पनि बताए ।