November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मेडिकल व्यवसायीको धैर्यताको बाँध फुटिसक्यो, कलेजहरूमा ताला लगाउनुको विकल्प देखिएन: अध्यक्ष अन्सारी

2.4K

काठमाडौं । एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष बसरुद्दिन अन्सारीले शृंखलाबद्ध रूपमा आक्रमण भइरहेको भन्दै सरकारलाई मेडिकल कलेजको ताला बुझाउने चेतावनी दिएका छन् ।

अन्सारीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको तेस्रो महामारी सन्निकट रहेको समयमा स्वास्थ्य संस्थाहरूमा ताला लगाउने परिस्थित सिर्जना नहोस् भनेका छन् ।

‘निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको अवस्थामा अब हाम्रा सबै मेडिकल कलेजहरूमा ताला लगाउनुको विकल्प देखिएन,’ उनले विज्ञप्तिमा भनेका छन् ।

Advertisement

एशोसिएसनका महासचिव डा. सुनिल शर्मामाथि मोसो दलेर दुर्व्यवहार गरिएको भन्दै घटनमामा संलग्नलाई कडा कारबाही गर्न उनले सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा निजी क्षेत्रबाट सञ्चालित कुनैपनि मेडिकल कलेज, अस्पतालहरुमा क्षति पुगेको खण्डमा तथा मेडिकल कलेज व्यवसायीहरूमाथि भएका आक्रमणहरूको जिम्मेवारी राज्यले लिनुपर्दछ उल्लेख छ ।
‘नेपालमा निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरूलाई धरासायी बनाएर वर्षेनी हजारौं नेपाली विद्यार्थीहरूलाई अर्बौं रुपैयाँ बोकेर विदेशी भूमिमा पठाउन राज्य संयन्त्र नै सक्रिय रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वका ठूल्ठूला देशहरू विकसित राष्ट्र बन्नुमा निजी क्षेत्रको लगानी र तिनले तिर्ने करबाट सम्भव भएको हो। तर, यहाँ त सरकारी संस्थाहरूलाई त कोल्याप्स पारिएको छ नै निजी क्षेत्रबाट अर्बौं ऋण लिएर सञ्चालित संस्थाहरूलाई समेत सिध्याउने कार्य भइरहेको छ ।’

शुक्रबार शर्मामाथि शिक्षा मन्त्रालयमा मोसो दलेर दुर्व्यवहार गरिएको थियो ।