काठमाडौं । अभया सुब्बाको ब्यान्ड अभया एन्ड स्टिम इन्जिन्सले ‘लैजाऊ मलाई’ बोलको गीत सार्वजनिक गरेका छन् । डिल्ली फोम्बोको पनि आवाज रहेको उक्त गीतको भिडियो बुधवार त्रिसारामा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।
अभया सुब्बाको शब्द, स्वर र संयोजन रहेको ‘लैजाऊ मलाईमा ब्यान्डले लिम्बु भाषाको ख्याली र हाक्पारेलाई पनि फ्युजन गरिएको छ । हाक्पारे ख्यालीमा डिल्ली फोम्बोेले आवाज दिएका छन् ।
यसअघि पनि श्रेया सोताङसँग ‘हाक्पारे’ बोलको फ्युजन गीत गाएका फोम्बोेले गीतमा याक्थुङ्पना आभास गराउन यस किसिमको लय प्रयोग गरिएको बताए । ‘शब्द लिम्बु हुँदैमा लिम्बु गीत हुँदैन, लिम्बु गीत हुनलाई लिम्बुपनाको आभाष हुनुपर्छ, यस गीतमा पनि हामीले लिम्बुपना आभाष गराउन खोजेका हौं ।’, फोम्बोेले भने ।
उक्त गीतको भिडियोमा डिल्ली फोम्बो र अस्मि श्रेष्ठलाई फिचरिङ गरिएको छ । त्यस्तै, भिडियोमा सुमित श्रेष्ठको छायांकन र विभूषण श्रिजोङहाङ सुब्बाको निर्देशन रहेको छ ।
अभया सुब्बाको ब्यान्ड अभया एन्ड स्टिम इन्जिन्स स्थापनाको १९औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा अभया सुब्बा र उनको ब्यान्डले नयाँ गीत सार्वजनिक गरेको हो ।