November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय,

3.6K

काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सिसिएमसीको आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

सिसिएमसीका प्रवक्ता सुनिता नेपालले भोलिदेखि नै लागू हुने गरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिइन्।

Advertisement

यस्तै बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिइन्।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने पनि बैठकले निर्णय गरेको छ। 

परीक्षाको तालिका सार्वजनिक भइसकेका शिक्षण संस्थाको हकमा सामाजिक दूरी कायम गर्दै परीक्षा संचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सीमानाकामा कोरोना परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने, भीडभाड हुने सार्वजनिक स्थलमा एन्टिजेन बुथ राख्ने निर्णय पनि गरेको छ।

राजनीतिक कार्यक्रम र मेला महोत्सव नगर्न आग्रह समेत गरेको बैठकले गर्नै परे स्थानीय प्रशासनको अनुमति लिएर मात्र गर्नुपर्ने निर्णय गरेको नेपालले जानकारी दिइन्।

आन्तरिक तथा अन्तरराष्ट्रिय विमानस्थलमा हवाइ यात्रुको चाप नहुने गरी उडान तालिका बनाउन पर्यटन मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ।  पछिल्लाे समय काेराेनाकाे तेस्राे लहर सुरु भएसँगै सरकारले सजगता अपनाउन सरकारले सबैमा अनुराेधसमेत गरेकाे छ।