लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले स्वास्थ्य सचेतना कार्यक्रम गर्ने भएको छ । कोरोना महामारीको बेला बेलायतको नेपाली समुदायलाई आवश्यक स्वास्थ्य सूचना, जानकारी र परामर्श उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको उक्त कार्यक्रम यही आइतबारदेखि शुरु गरिने भएको हो ।
शाखाले दिएको जानकारी अनुसार कार्यक्रम पाक्षिक रुपमा (हरेक पन्ध्र दिनमा) सञ्चालन गरिनेछ । कार्यक्रममा बेलायतमा कार्यरत डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी र जनस्वास्थ्य विज्ञहरुलाई निम्त्याएर प्रत्यक्ष प्रश्नोत्तर गराइनेछ ।
कार्यक्रम नेप्लिज डक्टर्स एशोसिएसन यूके र नेप्लिज नर्सिङ एशोशिएशन यूके समेतको सहकार्य रहनेछ ।
भर्चुअल माध्यमबाट चलाइने कार्यक्रम एफएनजे यूकेको अफिसियल फेसबुक पेजका साथै बेलायतस्थित प्रमुख नेपाली मिडियाबाट प्रत्यक्ष प्रसारण हुनेछ । कार्यक्रम हेर्ने दर्शकले स्वास्थ्यसम्बन्धी आफ्ना कुनै पनि प्रश्न वा जिज्ञासा प्रत्यक्ष राख्न सक्ने र ती प्रश्नहरुमा सम्बन्धित स्वास्थ्यकर्मी वा विज्ञले जवाफ दिने कार्यक्रमका संयोजक एफएनजे यूकेका वरिष्ठ उपाध्यक्ष दिनेश परियारले जानकारी दिए ।
कार्यक्रमको पहिलो अंक आगामी आइतबार दिउँसो २ बजे कोरोना महामारीको पछिल्लो अवस्था र ओमिक्रोन भेरियन्टको जोखिमलगायतका विषयहरुमा केन्द्रित रहने जनाइएको छ ।
कार्यक्रममा कन्सल्टेन्ट रेस्पिरेटोरी फिजिसियन डा सुधीर लोहनी, नेप्लिज डक्टर्स् एशोसिएसन यूकेका अध्यक्ष एवम् कन्सल्टेन्ट सर्जन डा कमल अर्याल र नेप्लिज नर्सिङ एशोसिएसन यूकेकी अध्यक्ष एवम् सिनियर नर्स सुनिता गौतम सहभागी हुँदैछन् ।