काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूबीचको मतभेदलाई निरुपण गर्नुपर्ने बताए।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ मा राष्ट्रपति भण्डारीले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सामाजिक, आर्थिक रुपान्तरणका लागि राजनीतिक दलहरूबीचको मतभेदलाई लोकतान्त्रिक विधिबाट निरुपण गर्नुपर्ने बताइन्।
उनले राष्ट्रियताको मर्मलाई आत्मासात् गर्नुपर्ने पनि बताइन्। संविधानले प्रत्याभूत गरेका अधिकारहरूको संरक्षण र कार्यान्वयनबाट मात्रै स्थायित्व प्राप्त गर्न सकिने उनको भनाइ थियो।
उनले भनिन्, ‘हामीले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सामाजिक, आर्थिक रुपान्तरण र राष्ट्रियताका मूलभूत मर्मलाई आत्मासात गर्न सक्नुपर्दछ। नेपाली जनताको दशकौँ लामो संघर्षको प्रतिफलस्वरुप स्थापित हाम्रो राजनीतिक प्रणालीले संविधानद्वारा प्रत्याभूत गरिएका सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारहरूको निरन्तर संरक्षण र कार्यान्वयनबाट नै स्थायित्व प्राप्त गर्न सम्भव छ।’
उनले राजनीतिक दलहरूबीच विद्यमान सानातिना मतभेदलाई लोकतान्त्रिक विधिबाट निरुपण गर्दै गणतन्त्रलाई तदनुरुपको आचरणद्वारा राम्रो जीवनशैलीमा रुपान्तरण गर्न आवश्यक रहेको बताइन्।
समाजको अग्रगामी परिवर्तनका लागि जनताको जीवनस्तर उठाउन आवश्यक छ ।’ राष्ट्रपति भण्डारीले अर्बाैँ रुपैयाँको कृषि उपज आयात गरी व्यापारघाटा बेहोर्नु परेको भन्दै कृषि उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने बताइन्।
राष्ट्रपति भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशी, डा. मिना आचार्य, प्राज्ञ गोपीरमण उपाध्याय, प्रा.डा. राजेश गौतम, प्रा.डा. सुरेन्द्र केसीलगायतलाई सम्मान गरिन्।