लण्डन । बेलायतमा नयाँ बर्षको उपलक्ष्यमा नेपाली एथलेटिक्सको दौड प्रतियोगिता हुँने भएको छ । शारीरिक तन्दुरुस्ती तथा दौडलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाली नयाँ वर्ष २०७९ (१६ एप्रिल २०२२) का अवसरमा दौड प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता नेपाली एथलेटिक्स क्लब ‘नेपाल रन’ को संयोजन तथा पोखरेली मञ्चको आयोजनामा हुन लागेको हो ।
प्रतियोगिता कार्यक्रमका लागि पोखरेली मञ्चले गैरआवासिय नेपाली संघकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई संयोजक र मिस नेपाल युके टेनिसा रानालाई कार्यक्रमको सहसंयोजकको जिम्मेवारी दिएको छ । कार्यक्रमको प्राविधिक पक्षको संयोजन नेपाल रनले गर्ने बताइएको छ ।
प्रविधिसँगÞै बढ़दो निस्क्रिय जीवन शैलीलाई शारीरिक तन्दुरुस्तीका माध्यमबाट समुदायलाई स्वस्थ राख्ने उद्देश्यले दौड संस्कृति प्रवर्द्धनमा लागेको र यस कार्यक्रमबाट समुदायमा शारीरिक तन्दुरुस्तीबारे चेतना फैलाउने उद्देश्य रहेको नेपाल रन क्लबका संयोजक एवं धरान रन तथा नेवा च्यारिटीका संस्थापक संतोस राईले बताए ।
त्यस्तै, कार्यक्रम मार्फत जुटेको सहयोग राशीले पोखरा र धरानमा हरेक वर्ष आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन र धरान रनलाई सहयोग गरिने पोखरेली मञ्च युकेका अध्यक्ष मनप्रसाद गुरुङले बताए ।
बेजिङ्स्टकमा आयोजना हुने उक्त कार्यक्रममा स्थानीय बेजिङ्गस्टक नेपाली समाजका अध्यक्ष ओम गुरुङ र बेजिङ्गस्टक तमु समाजका संयोजक दुर्गा गुरुङले स्थानीय समुदायले भरपुर सहयोग गर्ने जानकारी दिए ।