काठमाडौं : नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ पाँचदलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदबाट पारित गर्नेबारे साझा धारणा बनाउन ३ सदस्यीय कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पाँचदलीय गठबन्धनको बैठकले कार्यदल गठन गरेको हो। कार्यदलमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई राखिएको छ।
बैठकले एमसिसीबारे निष्कर्षमा पुग्न कार्यदलका ३ नेतालाई जिम्मा दिएको छ। बैठकले एमसिसीबारे एमालेसँग समेत छलफल गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ। कार्यदलको नेतृत्व गरेका खनालले एमसिसी जस्ताको तस्तै पारित हुन नसक्ने र पारित गर्नका लागि संशोधन गर्नुपर्ने बताउँदै आएका छन्।
कार्यदलमा रहेका माओवादी नेता श्रेष्ठसमेत जस्ताको तस्तै एमसिसी पारित गर्न नहुने पक्षमा उभिएका छन्। कार्यदलका तेस्रा सदस्य मन्त्रीसमेत रहेका कांग्रेसका कार्की एमसिसीका हस्ताक्षरकर्ता पनि हुन्। कार्यदलले एमसिसीका विवादास्पद बुँदाको अध्ययन गर्ने र धारणा बनाएर गठबन्धनका शीर्ष नेताहरूसमक्ष प्रस्तुत गर्ने बताइएको छ।
बैठकमा प्रधानमन्त्री देउवाले संसदको यो अधिवेशनमा एमसिसी पेश गर्ने र अनुमोदन गर्नुपर्ने बताएका थिए। गठबन्धनले कार्यदल गठन गरेलगत्तै सर्वदलीय बैठक बसेको थियो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपस्थित नभएको बैठकमा कांग्रेसबाहेक बाँकी सबै दलका नेताले एमसिसी यथास्थितिमा पारित गर्न नसकिने अडान लिएका थिए।
बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टीले एमसिसी पारित गर्न नहुने धारणा राखेका थिए।