June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्तिविरुद्ध मेरो लडाइँ हो: शेखर कोइराला

2.1K

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको नेता डा शेखर कोइरालाले बताएका छन् ।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका कोइरालाले आज विज्ञप्ति जारी गर्दै महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा भए पनि पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश काँग्रेसजन र नेपाली जनताको घरदैलोमा पुर्‍याएको बताए । उनले भने, “पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्तिविरुद्ध मेरो लडाइँ हो ।”

त्यस्तै, कोइरालाले पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउनका लागि ऊर्जावान युवालाई लिएर आफू अगाडि बढेको पनि बताए ।

Advertisement

कोइरालले निर्वाचनमा पराजित भए पनि राजनीति जितेको बताए । नेता कोइरालाले ४० प्रतिशत प्रतिनिधिले आफूप्रति देखाएको विश्वास र भरोसाप्रति आफू अविचलित रहने उल्लेख गर्दै पार्टीलाई रुपान्तरण र नयाँ ढङ्गले सञ्चालन गर्नका लागि आफ्नो सम्पूर्ण टोली लाग्ने विश्वास व्यक्त गरे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित बनेकोमा बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् ।