काठमाडौं । बिहीबार साँझबाट सुरु भएको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आदिवासी–जनजाति, महिला र दलिततर्फ सहमहामन्त्रीमा क्रमशः भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’ र जीवन परियार निर्वाचित भएका छन् । मतगणना राति साढे १० बजे सकिएको थियो ।
निर्वाचित आङ्देम्बे र उपाध्याय सभापति शेरबहादुर देउवा समूहका हुन् भने परियार सभापतिमा पराजित शेखर कोइराला समूहका हुन् ।
आदिवासी जनजातिमा आङ्दम्बेले विकास लामालाई पराजित गरेका छन् । २७११ मतका साथ उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । कोइराला समूहका लामाले १९१२ मत ल्याए ।
त्यस्तै, उपाध्याय २५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिस्पर्धी कमला पन्तले २१०५ मत ल्याइन् । दलिततर्फ जीवन परियारले देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरेका छन् । परियारले २२१२ मत ल्याए भने विश्वकर्माले २१७५ मत ल्याए ।
सहमहामन्त्रीमा कुल ४६७० मत खसेको थियो । त्यसमा स्वतन्त्र उम्मेदवार गंगा सुनारले २२९ मत ल्याइन् ।
काँग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ । त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको थियो ।
बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस–आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।