झापा । झापामा नक्कली पीसीआर रिपोर्ट बनाउने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६ काँकडभिट्टाका रिङ्जी टुर एन्ड ट्राभल्सका संचालक पेमा तामाङ रहेका छन् ।
उनलाई कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सञ्चालक तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल पब्लिक हेल्थ ल्याब टेकु काठमाडौँलगायतका अफिसियल लेटर प्याडलाई डिजिटल स्क्यान गरी पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ लेखेर राखिएको फायलसमेत फेला परेको प्रहरीले बताए ।
त्यसैगरी अनुसन्धानका क्रममा तामाङले नेपालको निशाना छाप एवं विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व कार्यालय भद्रपुरलगायतको छापलाई डिजिटल स्क्यान गरी सम्पादन गरेर राखिएको पाइएको प्रहीको भनाइ छ ।
सो डकुमेन्ट अस्पतालले तयार नगरेको र रङ्जी टुर एण्ड ट्राभल्सले कीर्ते गरेको खुल्ल आएकाले उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरी जिल्ला अदालत झापाबाट बुधबार सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले बताए ।
उनले सो रिपोर्ट भारतलगायत तेस्रो मुलुकका विभिन्न स्थानमा कामका लागि जाने नेपाली, लामो समय नेपाल रहेर घर फर्किने भारतीयसँग रु एक हजार ५०० देखि लिएर पाँच हजारसम्म लिने गरेको पाइएको छ ।