November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस महाधिवेशन अपडेट : ४२ सय मत खस्यो, १ बजेदेखि मतगणना

1.5K

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका जारी मतदानमा चार हजार दुई सय बढी मत खसेका छन्।

काठमाडौंस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपस्थित मतदान केन्द्रमा सोमबार बिहानदेखि मतदान जारी छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार यो खबर तयार पार्दासम्म चार हजार दुई सय मत खसेको छ।

सुरुमा साँझ ५ बजेसम्म मतदानको समय तोकिएकामा अपुग भएपछि राति ९ बजेसम्म लम्ब्याइएको छ। तर यस समयभित्र पनि मतदान सकिने अवस्था छैन। राति १० बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले बताए।

Advertisement

अझै पाँच सय मत खस्न बाँकी रहेकाले १० बजेसम्म मतदान हुने रावलले जानकारी दिए। राति १ बजेदेखि मत गणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ। 

राष्ट्रियसभा गृह, र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा  मतदान स्थल तोकिएको छ। कांग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसालेका थिए। एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ। महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ।