June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता, सभापतिका लागि ३० हजार शुल्क

1.7K

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि निर्वाचन प्रक्रिया शुरु हुँदै छ। 

आज बिहान १० बजे देखि साँझ ५ बजे सम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि आइतबार दिउँसो १ बजे सम्मको समय तोकिएको छ।

आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजे देखि मतदान सुरु हुने छ। नेपाली कांग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ। 

Advertisement

सभापति एक, उपसभापति दुुई, महामन्त्री दुुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने छ। केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था कांग्रेसको विधानमा छ। सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ।  

चार हजार ७४३ प्रतिनिधि
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार ७७ जिल्ला, भ्रातृ सङ्गठन, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट महाधिवेशन प्रतिनिधि छानिएर आएका हुन्।

सभापतिका लागि ३० हजार शुल्क

नेपाली कांग्रेसका पदाधिकारीमा उम्मेदवारी दिन छुट्टा–छुट्टै शुल्क निर्धारण गरिएको छ। सचिव शर्माका अनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ।

“’उपसभापति र महामन्त्री २५–२५ हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ। सहमहामन्त्री पदका उम्मेदवारले २० हजार रुपियाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ।’ उनले भने।