काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आन्दोलनको लामो इतिहास बोेकेको पुरानो पार्टी रहेको बताए । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले नेपाली काँग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पुरानो पार्टी रहेको बताएका हुन् ।
अध्यक्ष ओलीले राजनीतिक दलले देशमा धेरै परिवर्तन ल्याउने काम गरेको बताए । राणा शासन, राजतन्त्र फालेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने र नागरिक स्वाभिमान बढाउनेसम्मको महत्वपूर्ण काम राजनीतिक दलले गरेको उनको भनाइ थियो ।
त्यस्तै अध्यक्ष ओलीले भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई कटाक्ष गरेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा लिङ्देनले राजतन्त्रको पक्षमा बोलेका थिए । त्यसपछि सम्बोधन गरेका ओलीले नागरिक स्वाभिमान बिर्सिएर जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मान्नु आश्चर्य भएको बताए ।
‘नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ । यस्ता कुरा बोकेर हिँड्ने ?’ ओलीले भने, ‘भर्खर भर्खर अध्यक्षमा छानिएको रातताप होला केही साथीहरुलाई । त्यस राततापमा भर्खर भर्खरको बाच्छो हिँड्न जाँदैन, अलिबढी कुद्छ क्या ।’