June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने चलन छ, यी सबै पूर्व प्रधानमन्त्री एकले अर्कालाई बनाएका हुन्: प्रचण्ड

1.4K

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको बताएका छन् । भारतीय जनता पार्टीका नेता हर्षबद्र्धनको भनाइको जवाफ दिने क्रममा प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन पनि रहेको बताएका हुन् ।

नेपाली काँग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा भारतीय जनता पार्टीका नेता हर्षबद्र्धनले धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा पहिलो पटक देखेको बताएका थिए ।

‘यी सबै पूर्व प्रधानमन्त्रीहरू एकले अर्कोलाई प्रधानमन्त्री बनाएका व्यक्ति हुन् । हामी एक अर्कालाई हातेमालो गरेर देशविकास गर्न पछि पर्दैनौं । उहाँ भर्खरै यहाँबाट गइसक्नु भएको छ, म उहाँलाई यी सबै पूर्व प्रधानमन्त्री एकले अर्कालाई बनाएका हुन् भन्न चाहन्थेँ । सायद उहाँले सुन्नुहुन्छ होला ।’ प्रचण्डले भने ।

Advertisement

उनले आफूहरूसँग आपसमा प्रतिस्पर्धा भए पनि जरूरी पर्दा एकले अर्कालाई प्रधानमन्त्री पनि बनाउने गरेको संस्कार समेत रहेको स्पष्ट पारे ।

त्यस्तै अध्यक्ष दाहालले आन्दोलन र सडकमा रहँदा जनतामाझ गरिएको वाचा पूरा गर्न सत्तामा पुगेका बेला बिर्सिने राजनीतिक परिपाटीको समीक्षा गर्नुपर्ने उनले बताए ।

सत्तामा पुगेपछि नेताहरुमा दम्भ बढेर आउने भएकाले काम गर्न नसकेको आफैंले अनुभव गरेको भन्दै प्रचण्डले गत वर्षदेखि गणतन्त्र र राजनीतिक उपलब्धिमाथि खतरा बढेर गएको बताए ।

शान्ति वार्ता गर्ने पहिलो व्यक्ति शेरबहादुर देउवा रहेका भन्दै उनले शान्ति प्रक्रियालाई विभिन्न चुनौती पार गरेर पूरा गरेको बताए ।

अध्यक्ष दाहालले राजनीतिक दलहरुलाई एक्लै नहिड्न पनि सुझाव दिए । नेपाली काँग्रेसप्रति लक्षित गर्दै उनले एक्लै हिड्न खोज्ने अहंकार र घमण्ड नगर्न पनि आग्रह गरे ।