काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति जनताको दृष्टिकोणमा लिगबाट बाहिर गएको बताएका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा लिङ्देनले नेताप्रति जनताको विश्वास मरेको बताका हुन् ।
‘सरकार सरकारजस्तो छैन, संसद संसदजस्तो छैन, अदालत अदालतजस्तो छैन । यो सबलाई ठीक लगाउने राजनीतिले हो तर त्यो राजनीति ठीक छैन । त्यो राजनीतिलाई ठीक लगाउने नेताले हो तर आज नेताहरुले पूर्ण रुपले विश्वास गुमाएको अवस्था छ । नेताप्रति जनताको विश्वास मरेको अवस्था छ ।’, अध्यक्ष लिङ्देनले बताए ।
त्यस्तै उनले अचेल जनताले नेताहरुलाई सम्मान दिन छोडेको बताए । अध्यक्ष लिङ्देनले भने, ‘हाम्रो गाउँघरतिर पार्टीका कार्यकर्ताहरुले नेता बोलाएर छरछिमेकीहरुलाई आमन्त्रण गर्न जाँदा कुन नेता आएछ भनेर नेताको नाम सम्झिदैनन्, कुन चैं चोर आएछ आज त्यहाँ भन्छन् ।’
लिङदेनले औपचारिकता पुरा गर्न, वैधानिकता पुरा गर्न र नेतृत्व चयन गर्नमा मात्रै सिमित नरही नेतृत्वको विग्रिएको छवि सुधार्ने अवसरको रुपमा महाधिवेशनलाई प्रयोग गर्नुपर्ने बताए ।
२०४७ पछि देशमा बनेका कुनैपनि सरकारले पुरा कार्यकाल पुरा गर्न नसकेको र नफुटेको कुनै राजनीतिक पार्टी नरहेको आरोप समेत लगाए ।