January 27, 2022, Thursday
२०७८ माघ १४
1:37:26 pm

ओमिक्रोन भेरियन्ट देखिएसँगै उच्च सतर्कता, तत्काल लकडाउन नहुने

430

काठमाडौं : नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ। यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो।

नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुई व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का एकजनामा ओमिक्रोन भेरियन्ट देखिएको हो। दुवैजनाको प्रयोगशालाको जीन सिक्वेन्सिङ गर्दा ओमिक्रोन देखिएको हो।

Advertisement

नेपालमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमण २०७६ माघ ९ गते देखिएको थियो। चीनको वुहानबाट नेपाल आएका एक जनामा सङ्क्रमण देखिएको थियो।

विदेशी नागरिकको सुरुमा नेपाल आउँदा पिसिआर गर्दा नेगेटिभ देखिएको र कोरोना भाइरसविरुद्धको खोपको मात्रा पूरा गरेको पाइएको थियो। त्यसपछि मङ्सिर ७ गते ती विदेशी र उनका नजिकको सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्तिको कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण गर्दा कोभिड–१९ को नतिजा पोजेटिभ आएको थियो।

‘कोभिड–१९ पोजिटिभ आएकाको S-gene परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीतिअनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा S-gene फेला परेको थिएन’, उनले भने, ‘ S-gene फेला नपरेका उक्त दुवै नमुनाको टेकु प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको हो।’

उनका अनुसार हाल दुवैजना सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा रही स्वास्थ्यलाभ गरिरहेका छन्। ती दुई सङ्क्रमितमा कुनै लक्षण नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए।

मन्त्रालयले उक्त दुई व्यक्तिसँग सम्पर्कमा आएकाको  कन्ट्याक्ट ट्रेसिङगमा रहेका ६६ जनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको छ।