January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

माओवादीले ७७६ वटै पालिकामा आज सम्मेलन गर्दै, प्रचण्डले सम्बोधन गर्ने

305

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो ।

सबै पालिका सम्मेलनलाई शनिबार १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ ।

मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

Advertisement

माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ । पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रीत हुने गरी नीति र विधि तय गरेको छ । माओवादीले पार्टीको विधानको व्यवस्थाअनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको छ । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए ।

माओवादीले पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको बताइएको छ । वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दछ ।

त्यस्तै वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुनेछन् । नगरमा २००, उपमहानगरमा ३०० सय र महानगरमा ४०० प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने प्रमुख श्रेष्ठले जानकारी दिइएको छ ।

माओवादीले सबै पालिका अधिवेशनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि विशेष परिपत्र गरिएको जनाएको छ ।