January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

अन्तरिक्षमा नेपालको हिस्सा छ, समुन्द्रमा पनि हक छ : केपी ओली

250

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब अन्तरिक्षमा नेपालको पनि हिस्सा भएको दाबी गरेका छन् । आफ्नो नेतृत्वको सरकारले थुप्रै काम गरेको बताउँदै अब अन्तरिक्षमा नेपालको पनि हिस्सा रहेको दाबी गरेका हुन् ।

बुधबार चितवनमा एमालेको दशौँ महाधिवेशन उद्धघाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘अब अन्तरिक्षमा पनि हाम्रो हिस्सा छ । अन्तरिक्षमा पनि नेपालले आफ्नो दाबी गरेको छ । समुद्रमा पनि हक छ । मलाई खुसी लागेको छ । समुद्रमा स्टिमरमा यात्रा गरिहनुभएको छ । जलमार्गका सम्बन्धमा भारतसँग सहाकार्य भइरहेको छ ।’

त्यस्तै अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिइछाड्ने बताएका छन् । उनले छिमेकसँग पारस्परिक कुराकानीबाट समस्या समाधान गर्ने लक्ष्य रहेको बताए ।

Advertisement

त्यसैगरी ओलीले आफूहरु आवश्यकता अनुसार संविधान संशोधनको पक्षमा रहेको समेत स्पष्ट पारे । ‘आवश्यकता अनुसार जनताको चाहना अनुसार संविधानको आवश्यक संशोधन हुनसक्दछ । हामी त्यो मान्यतामा छौं ।’, ओलीले भने ।

ओलीले आफूहरु चुनावको तयारीमा जाने र अबको चुनावमा एकल बहुमत ल्याउने दाबी समेत गरे । उनले अरु दलहरु यसअघि नै चुनावदेखि त्रसित भएको टिप्पणी गरे । आफूले जनताको बीचमा जाऔं भन्दा पनि त्रसित भएको टिप्पणी गरे ।

त्यसैगरी देशमा हिंसा फैलाउने षड्यन्त्र भइरहेकाले आफूहरु सचेत भएको बताए । ‘जात–जात, धर्म–धर्म, भाषा–भाषाका रुपमा साम्प्रदायिक द्वेष फैलाएर हिंसा मच्चाउनेहरुको विपक्षमा छौं । सहअस्तित्व र सहकार्यको पक्षमा छौं ।’, उनले भने ।