काठमाडौं । नेपाली काँग्रेसले काठमाडौंलगायत विभिन्न ४२ जिल्लामा आजदेखि जिल्ला अधिवेशन सुरू गर्ने तयारी छ । एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा आज जिल्ला अधिवेशन गर्ने भएको हो ।
चितवन, मकवानपुरलगायत जिल्लामा भने अधिवेशन केही पर सारिएका छन् । प्रदेश अधिवेशन हुने सातै प्रदेशका जिल्लाहरूमा व्यवस्थापनमा समस्या हुने हुँदा पछि जिल्ला अधिवेशन गर्ने तयारी गरेको हो ।
चितवनमा भने आज एमालेको महाधिवेशन भएकोले काँग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ ।
एक मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा मंसिर ६ मा जिल्ला अधिवेशन भएको थियो । त्यसअघि १४ हिमाली जिल्लामा जिल्ला अधिवेशन सकिएका थिए । जसमा धनकुटामा भने सहमतिमै अधिवेशन गर्ने भन्दै ढिलाइ भइरहेको छ ।
रसुवामा पनि अधिवेशन अघि बढेको छैन । त्यहाँ केन्द्रीय निर्वाचन समितिले बिहीबार नयाँ मतदान अधिकृत खटाएको छ । पर्सा, सर्लाहीलगायतमा पनि अधिवेशनका काम अगाडि बढेका छैनन् ।
काँग्रेसले यही मंसिर १६ देखि १७ सम्म प्रदेश अधिवेशन गर्दैछ । विराटनगर, जनकपुरधाम, हेटौडा, पोखरा, बुटवल, सुर्खेत, धनगढीमा प्रदेश अधिवेशन हुनेछन् ।
काँग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १२६ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पनि सकेको छ । प्रतिनिधि सभा क्षेत्रबाट केन्द्रीय महाधिवेशनका लागि २६ जनाका दरले प्रतिनिधि आउँछन् ।
काँग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।