काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै मंगलबार पनि सर्वोच्चमा धर्ना दिएको बारले बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो ।
मार्चपासमा नागरिक समाजका सदस्यहरु समते संलग्न रहने नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले बुधबार (भोलि) देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम आयोजना गर्ने पनि बताए ।
श्रेष्ठले प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै अब सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको स्पष्ट पारे ।
न्यायपालिकाको गरिमा कायम राख्नको लागि र न्यायपालिका भ्रष्टाचार मुक्त बनाउनको लागि आन्दोलन गरिरहेका श्रेष्ठले बताए ।
‘हाम्रो आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै नागरिक आन्दोलन, विभिन्न पेशाकर्मी, साथीहरूले संयुक्त रूपमा पर्सि यही सर्वोच्च अदालतको एरियाबाट बालुवाटार, किनभने यो बालुवाटारकै सेरोफेरोको कारणले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अहिलेसम्म लुकेर मुसाको दुलोमा पसेजस्तो आइराख्नु भएको छ, त्यो हटाउनको लागि अभियान सञ्चालन गर्न जनताको तर्फबाट सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च गर्ने प्रस्ताव आइरहेको छ, ९ गते २ बजे र १० देखि १२ सम्म हाम्रो कार्यक्रम निरन्तर रहन्छ ।’, श्रेष्ठले बताए ।