लन्डन । बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित नयाँ राजदुहरुको सुनुवाई दुई साता पर सरेको छ । बेलायतका लागि प्रस्तावित नयाँ नेपाली राजदुत ज्ञानचन्द्र आचार्य लगायतको सुनुवाई गर्न राखिएको सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक दुई साता सरेको हो ।
स्रोतका अनुसार आवश्यक न्युनतम सङ्ख्या (कोरम) नपुगेपछि सुनुवाई दुई साता पर धकेलिएको हो । १५ सदस्यीय समितिमा हाल १२ सदस्य रहेकामा आइतबारको बैठकमा पाँच जना मात्रै उपस्थिति रहेको थियो ।
समितिमा रहेका सांसदहरु पार्टीका विभिन्न तहका अधिवेशनमा व्यस्त रहेका कारण आजको बैठकमा आवश्यक सङ्ख्या नपुगेको स्रोतले जनाएको छ । यससँगै बैठक मङ्सिर १७ गतेका लागि तय गरिएको छ ।
सरकारले केही समयअघि भारतका लागि डा शङ्कर शर्मा, अमेरिकाका लागि प्रा श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा नियुक्ति गर्न सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइका लागि गत कात्तिक १२ गते समितिमा प्रस्ताव आएको थियो । समितिमा प्रस्ताव दर्ता भएको ४५ दिनभित्र सुनुवाइ सक्नुपर्ने कानूनी प्रावधान छ ।