काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले देशब्यापी विरोधका कार्यक्रम गर्ने भएको छ ।
बारले विज्ञप्ति जारी गर्दै बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले देशभरका बार इकाइलाइ पत्र लेखी मंसिर ५ गते आइतबारदेखि मंसिर १० गते शुक्रबारसम्म आन्दोलनको कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।
आइतबार देशभरका बार इकाइले अदालतभित्र दंगा प्रहरी प्रवेश गराउने, कानुन व्यवसायीको शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहितको दंगा प्रहरी तैनाथ गर्ने र कानुन व्यवसायीमाथि दमन र कुटपिट गरेको विरोधमा बहस बहिस्कार गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
बार जारी गरेको विज्ञप्तिमा सोमबार देशभरका अदालतमा विहान १० देखि १२ बजेसम्म कालोपट्टीसहितको धर्नालाई निरन्तरता दिने, मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने उल्लेख छ ।
बारले बुधबार उच्च अदालत र उच्च अदालतका इजलासमा विरोधसभा आयोजना गर्ने, बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । मंसिर २४, २५ र २६ गतेलाई तोकिएको राष्ट्रिय सम्मेलन पनि स्थगित गरेको छ ।
विज्ञप्ति