लन्डन । तथ्याङ्क अनुसार बेलायत कोरोना सङ्क्रमणका आधारमा युरोपमै अग्र स्थानमा पर्दछ । बेलायतमा महिनौँ अघिदेखि दैनिक ४० हजारको हाराहारीमा सङ्क्रमित थपिने गरेको छ भने पछिल्लो एक सातामा दुई लाख ४८ हजार भन्दा बढी कोरोना सङ्क्रमित फेला परेको तथ्यांकले देखाएको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’का अनुसार पछिल्लो २४ घण्टामा बेलायतमा ४० हजार ३७५ जना नयाँ सङ्क्रमित थपिएको छ । यससँगै कुल सङ्क्रमितको सङ्ख्या ९४ लाख ८७ हजार ३०२ पुगेको छ । बितेको २४ घण्टामा १४५ जना सङ्क्रमितको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४२ हजार ६७८ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ९९३ जना सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका सङ्क्रमितको सङ्ख्या ८ हजार ६५२ रहेको छ । यस्तै ९९९ सङ्क्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको १० करोड ८२ लाख ७९ हजार ८३२ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड ४ लाख ९१ हजार ७०१ जना अर्थात् ८७.८ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५९ लाख ६४ हजार ४८८ जना अर्थात् ७९.९ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी २० प्रतिशत भन्दा बढीले तेस्रो अर्थात बुष्टर डोज खोप लगाइसकेका छन् । बुष्टर डोज लगाउनेको सङ्ख्या पनि एक करोड १८ लाख २३ हजार ६४३ पुगेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।