January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको चुनौति

२०७८ कार्तिक २४

370

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौति दिएका छन् । बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताए ।

देउवाले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै भने, ‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएकै होइन, मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिन सरकार भने तर मलाई जेलमा थुनियो, त्यसकारण एकाएक जनता तातिए, प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यही पनि शासन चलाउँछ, यसको खिलाफमा मान्छे लाग्न सक्छन्, त्यसकारण अगाडि बढे भइहाल्यो नि, मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुनै सक्दैन, उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ, यो अहिले सबैभन्दा राम्रो संविधान छ, समावेशी, समानुपातिक छ, सबैलाई अटाएको छ, केही समस्याहरू आउन सक्छन्, हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ ।’

प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराउदै प्रधानमन्त्री देउवाले निर्वाचन आयोग र वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताए । जनताप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको बताए । उनले संविधानका केही कुरामा आफ्नो पनि असहमति रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजाने पनि बताए ।

Advertisement

त्यसैगरी प्रधानमन्त्री देउवाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण नेपालमा मनसुनजन्य विपद् आइरहेको बताए । उनले विश्व नै अहिले पेट्रोलियम पदार्थलाई विस्थापित गरेर विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने रणनीतिअनुसार अघि बढिरहेको भन्दै नेपालले पनि त्यहीअनुसार अघि बढ्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले क्लाइमेट चेन्ज (जलवायु परिवर्तन) का कारण देशका हिमालहरूमा हिउँ पर्न छोडेको भन्दै अब वातावरण सफा बनाउनेतर्फ जागरुक हुनुपर्ने आवश्यकता रहेको पनि बताए ।