April 16, 2024, Tuesday
२०८१ बैशाख ४
1:37:26 pm

नेपाली काँग्रेसले तोक्यो १३ जिल्लाका लागि निर्वाचन अधिकृत

२०७८ कार्तिक २२

1.9K

काठमाडौं । नेपाली काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी रहेका १३ जिल्लामा निर्वाचन अधिकृत तोकेको छ । अधिवेशन हुन बाँकी रहेको २ नम्बर प्रदेशका ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा निर्वाचन अधिकृत तोकिएको हो । कैलालीमा भने यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको थियो ।

त्यसैगरी बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठ, सप्तरीमा डा.रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा ईन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार निर्वाचन अधिकृतहरु कात्तिक २२ गते तोकिएको जिल्लामा जानुपर्ने छ ।

Advertisement

वडा अधिवेशन हुन बाँकी जिल्लामा निर्वाचन समितिले कात्तिक २७ गतेका लागि मिति तोकेको छ । २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा काँग्रेसको जिल्ला अधिवेशन भइसकेको छ भने ६४ जिल्लामा पालिका अधिवेशन पनि सकिएको छ ।

नयाँ कार्यतालिका अनुसार १३ जिल्लामा पालिका अधिवेशन कात्तिक ३० गते हुने छ । यस्तै मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्ला अधिवेशन हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ । त्यसैगरी हिमाली जिल्ला सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन कात्तिक २७ र जिल्ला अधिवेशन मंसिर एक गते हुने छ । यस्तै जिल्ला अधिवेशन हुन बाँकी जुम्लामा पनि मंसिर एक गते अधिवेशन हुने छ । पालिका अधिवेशन सम्पन्न भएका बाँकी ६४ वटा जिल्लामा मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशन हुनेछ ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा मंसिर ६ र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन हुनेछ ।

मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ । उक्त कार्यतालिका प्रभावित नभए मंसिर २४–२६ मा काँग्रेसले १४ औं महाधिवेशन गर्ने छ । काँग्रेसले १४ औं महाधिवेशन तयारी समिति गठनसहितका विषयमा छलफल गर्न कात्तिक २८ गतेका लागि केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।