January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

प्रधानमन्त्री देउवा बिहीबार बिहान स्वदेश फर्कने

२०७८ कार्तिक १७

420

काठमाडाैं । बेलायतको ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिई प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किँदैछन् । यही नोभेम्बर १ र २ मा सम्पन्न सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन प्रस्थान गरेका थिए । प्रधानमन्त्री देउवा आज स्थानीय समय दिउँसो १ः ५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै बिहीबार बिहान स्वदेश आइपुग्नेछन् ।

बुधबार मात्र प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उनको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गरेका थिए । साे अवसरमा उनले नेपाली बगैँचामा भोजपत्रको विरुवा रोपेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट गरेका थिए । नोभेम्बर १ मा प्रधानमन्त्री देउवाले कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वर्ल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए । उनले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग भेटवार्ता पनि गरेका थिए ।

Advertisement