November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

न्यायालयमा गरेका सेटिङ खुल्दै गएकाले प्रधानन्यायाधीशले राजीनामा दिनु उपयुक्त: रामचन्द्र पौडेल

२०७८ कार्तिक १६

2.6K

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चाँडै नै पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । नेपाली काँग्रेस मकवानपुरले शुभ दीपावली, छठको अवसरमा हेटौँडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले आफ्नो मान प्रतिष्ठा जोगाउनका लागि प्रधानन्यायाधीश राणाले ढिला नगरी राजीनामा दिनुपर्ने बताए ।

पौडेलले प्रधानन्यायाधीश राणाले न्यायालयमा गरेका सेटिङ खुल्दै गइरहेका कारण आफ्नो मान मर्यादाका लागि भए पनि पदबाट राजीनामा दिनु उपयुक्त भएको बताएका हुन् । राणाले बैलैमा विचार नपु¥याए अपमानजनक बहिर्गमन निश्चित रहेको उनको भनाइ थियो । प्रधानन्यायाधीशले विगतका प्रधानमन्त्रीहरुसँग गरेको सेटिङका कारण अहिलेको न्यायालय नै विवादमा फसेको उनले बताए ।

त्यसैगरी पौडेलले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली काँग्रेस पार्टी कसैको भरमा खडा नभएको बताए । काँग्रेसको इतिहास र अस्तित्व कोही कसैको भरथेगबाट स्थापित नभएको उनको जिकिर थियो । नेता पौडेलले अरूको वैशाखी टेकेर उभिने पार्टी काँग्रेस हुन नसक्ने बताए । उनले वर्तमान परिस्थितिमा काँग्रेस पाटी भित्रै आन्तरिक शुद्धीकरणको आवश्यकता रहेको बताए ।

Advertisement

‘साँढे पाँच वर्षको अवधिसम्म पार्टीको महाधिवेशन गर्न नसक्ने काँग्रेसको नेतृत्वले अरू चुनाव गराउन वा भाग लिन सक्ला कि नसक्ला ?,’ पौडेलले प्रश्न गरे ।

त्यस्तै नेता पौडेलले पाटीको क्रियाशील सदस्यको विवादले पार्टीलाई थप कमजोर बनाएको बताए । काँग्रेसले परिस्थिति र आवश्यकताको आधारमा निर्णय गर्ने क्षमता गुमाइसकेको नेता पौडेलको भनाई थियो ।

सरकारको नेतृत्व लिएको ३ महिनासम्म मन्त्रीहरूको नियुक्ति हुन नसक्नुले नै काँग्रेसको निर्णय क्षमता छर्लङ्ग भएको उनले बताए ।