November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्‍को निर्णय

3.7K

काठमाडौं- सरकारले नेपाल प्रहरीका नायव प्रहरी महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो।

बुधबार मात्रै राज्य व्यवस्था समितिको बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम)मा एक एआइजी दरबन्दी सिर्जना गरिएको र त्यसले कुनै निश्चित व्यक्तिलाई मात्र लाभ हुने भन्दै एआइजी दरबन्दी थपको निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो। तर समितिको निर्देशनविपरीत बिहीबारको मन्त्रिपरिषद् बैठकले पोखरेललाई नयाँ कायम भएको दरबन्दीमा एआइजी बढुवा गरेको हो।

गत सोमबार गृह मन्त्रालयमा बसेको प्रहरी बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआइजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको थियो।

Advertisement

एआइजीमा बढुवा भएका पोखरेल भावी प्रहरी महानिरीक्षक (आइजी)का लागि एकल दाबेदार भएका छन्। हालका आइजी शैलेश थापा क्षेत्रीले २०७९ साल बैसाख १८ गते अनिवार्य अवकाश पाउँदैछन्।