November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आधुनिक बाल अस्पताल निर्माणका लागि महानगरको ४ करोड सहयोग

२०७८ कार्तिक ११

2.1K

काठमाडौं । काठमाडौं महानगरपालिकाले आधुनिक अस्पताल निर्माणका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४ करोड रुपैयाँ सहयोग गरेको छ । महानगरले बुढानिलकण्ठमा निर्माण हुने इन्स्टिच्युटलाई आर्थिक सहयोग गरेको हो ।

बालबालिकाको उपचारका लागि विशिष्टिकृत सेवा दिने उद्देश्यका साथ विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माण गर्न गरिएको आर्थिक सहयोगका लािग महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौं इन्स्टिच्युटका अध्यक्ष डा. भगवान कोइरालाले बुधबार सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरपछि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए ।

Advertisement

‘विशेषज्ञहरुको समूहले बालबालिकाको उपचारलाई केन्द्रित गरेर अस्पताल निर्माणको अभियान अघि बढाउनुभएको छ, सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा दिने गरी अघि बढ्नुहोला । हामी सहयोगको हात अझै अघि बढाउन तयार छौं ।’ शाक्यले भने ।

त्यसैगरी काठमाडौं इन्स्टिच्युटका अध्यक्ष डा. कोइरालाले काठमाडौंमा २ सय बेडको अस्पताल निर्माणको तयारी गरेको बताए । नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलिक भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माणको अभियानमा जुटेको उनले जनाए ।