काठमाडौं । नेपाल सरकारलाई अमेरिकी सरकारले आज कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई अमेरिकी सहयोग नियोग नेपालका निर्देशक सेपिडे केभान्साडले भाइरसविरुद्धको खोप हस्तान्तरण गरेका छन् ।
अमेरिकाले नेपाललाई एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको छ । उक्त खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले उपलब्ध गराएको हो । यसअघि अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।
स्वास्थ्य सचिव डा पोखरेलले खोपले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकारलाई सहयोग हुने बताउदै अमेरिकाले उपलब्ध गराएको खोप १२ वर्षभन्दामाथिका दीर्घरोगीलाई लगाइने जानकारी दिए ।
नियोगका नेपालस्थित निर्देशक केभान्साडले खोप नेपाललाई दिन पाएकामा खुसी व्यक्त गर्दै नेपाललाई भविष्यमा फाइजर खोपका लागि थप मात्रा प्राप्त गर्न सहज हुने बताए ।
मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोप १२ वर्षभन्दा माथिका मुटु, मिर्गौला, दम जस्ता दीर्घ रोगीलाई दिइने जानकारी दिए । खोप छठपछि देशका विभिन्न २३ अस्पतालबाट ती दीर्घरोगीलाई दिइनेछ ।
खोपलाई अहिले टेकुस्थित स्वास्थ्य सेवा विभागको भण्डारणमा राखिएको छ । उक्त खोप ८० डिग्री सेल्सियसमा राख्नुपर्ने भए पनि एक महिनासम्म दुईदेखि आठ डिग्री सेल्सियसमा राख्न सकिने मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिए ।
सरकारले बालबालिकालाई अमेरिकाबाट ६० लाख मात्रा फाइजर र ४० लाख मात्रा मोडर्ना खोप ल्याउने तयारी गरेको छ ।