काठमाडौं । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि सिके राउत नेतृत्वको जनमत पार्टीका नेता/कार्यकर्ताले गरेको अमानवीय व्यवहारविरूद्ध प्रदेश २ का इन्जिनियर आन्दोलित भएका छन् ।
घटनाको विरोध तथा पेशागत हकहित संरक्षणको माग गर्दै इन्जिनियरहरू आन्दोलित भएका हुन् । उनिहरुले जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारीलाई सिके राउतमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र पनि बुझाएका छन् ।
नेपाल इन्जिनियर एशोसएसन प्रदेश २ मा आवद्ध इन्जिनियरहरूले घटनाको विरोध गर्दै शुक्रबार जनमत पार्टी र पार्टी अध्यक्ष राउतविरूद्ध नाराबाजी गरेका थिए ।
उनिहरुले ‘पीडित इन्जिनियरलाई न्याय दे, सिके राउतलाई कारबाही गर, इन्जिनियर सुरक्षाको ग्यारेन्टी गर, सिके राउतको इन्जिनियरिङ दर्ता खारेज गर’ लगायत नारा लगाउँदै जनकपुरमा प्रदर्शन गरेका थिए ।
आन्दोलित इन्जिनियरले जुलुससहित नगर परिक्रमा गरिसकेपछि जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारीलाई सिके राउतमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
पेशागत रूपमा एक इन्जिनियरसमेत रहेका जनमत पार्टीका प्रमुख राउतको यस कदमले इन्जिनिरिङ पेशाको गरिमा र मर्यादा हनन गरेकाले उनको नेपाल इन्जिनिरिङ परिषदको दर्ता प्रमाण पत्रसमेत तत्काल खारेज गर्न उनीहरूले नेपाल इन्जिनियरिङ परिषदसँग माग गरेका छन् ।
जनमत पार्टीका कार्यकर्ताले बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका निमित्त प्रमुख कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए । उक्त कार्यमा संलग्न केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने १७ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ ।