झापा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देश प्राकृतिक विपत्तिमा परेकोबेला दलीय एकता खाँचो रहेको बताएका छन् । यतिबेला विपत्तिलाई सामना गर्न हामी सबैको साझा दायित्व भएको बताए ।
विहिबार कांग्रेस पार्टी कार्यालयमा नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति दमकले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले विपत्तिले सिङ्गो राष्ट्र डुबेका बेला सबै नागरिक उद्धार र राहतका कार्यमा एकजुट हुनुपर्ने धारणा राखका हुन् ।
जिल्लाको दक्षिणी बाढीग्रस्त क्षेत्रको अवलोकन तथा बाढीपीडितसँग भेटघाट गरेका उनले बाढी, पहिरोबाट ज्यान गुमाएका तथा उठिबास भएका परिवारलाई पुनःस्थापना गरी राहत दिन सरकारले थप व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।
त्यसैगरी उनले सरकारले विपत्तिलगत्तै गरेको निर्णय प्रशंसनीय भएको बताए । सरकारले गरेको निर्णय निष्पक्ष कार्यान्वयन गर्न तीनै तहको सरकार गम्भीर हुनुपर्ने पनि उनले बताए । उनले विपत्तिमा परेका किसानलाई थप राहतको प्याकेज ल्याउनुपर्ने सरकारसँग माग गरे । कांग्रेस विपत्ति सहकार्यमा सदैव दलीय आस्थाभन्दा माथि रहेको उनको धारणा थियो ।