काठमाण्डौं । प्रवासमा रहेका नेपाल आदिवासी जनजाति महासंघहरुको प्रथम महाधिवेशन आजबाट काठमाण्डौंमा सुरु हुँदैछ । संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ कार्यक्रमको प्रमुख आतिथ्यतामा हुने सो महाधिवेशनमा १७ देशका नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)हरुले भाग लिंदैछन् ।
सन् २०१९ को अक्टोबरमा विदेशमा रहेका नेपाली आदिवासीहरुको प्रथम विश्व सम्मेलनबाट विकसित अन्तर्राष्ट्यि महासंघको अवधारणा अनुरुप सन् २०२० मा एक अन्तर्राष्ट्रिय तदर्थ समिति बनेको थियो । तर नेपालस्थित नेफिनको यसमा संलग्नता नरहेको गुनासो आएपछि नेफिन नेपालका उपाध्यक्ष गोविन्द छन्त्यालकै संयोजकत्वमा हालै मात्रै उक्त तदर्थ समिति पुनर्गठन भएको थियो ।
राजधानीको हिमालयन होटलमा अक्टोबर २१ र २२ का लागि कार्यक्रम तय गरिएको छ । महाधिवेशन नेफिन नेपालका अध्यक्ष जगत बराम र उपाध्यक्ष तथा विदेश विभाग प्रमुख गोविन्द छन्त्यालको विशेष आतिथ्यतामा सम्पन्न हुने कुरा अन्तर्राष्ट्रिय महासंघको तदर्थ समितिका संयोजक मान बहादुर राना मगरले बताए ।
विदेशमा रहेका नेफिनहरुमध्ये अमेरिका, अस्ट्रेलिया, अस्ट्रिया, इजरायल, क्यानडा, कतार, कुवेत, जापान, दक्षिण कोरिया, मलेसिया, पोर्चुगल, बहराइन, बेल्जियम, मकाऊ, युनाइटेड अरब इमिरेट्स, हङकङ र यूकेका प्रतिनिधिहरुले प्रत्यक्ष वा जूम मार्फत भर्चुअल (मिश्रित) रुपमा सहभागी हुने भएका छन् ।
उल्लिखित सबै १७ देशका नेफिनहरुले पाँच पाँच जना महाधिवेशन प्रतिनिधिहरु पठाउनु पर्नेछ । नेफिन यूकेले भने अध्यक्ष कर्मा पहाडी शेर्पा, निवर्तमान महासचिव खुशी लिम्बु, प्रस्तावित महासचिव बिमला सेने र रुद्र थापालाई प्रतिनिधि चयन गरिसकेको छ ।